अर्जुन शाही जाजरकोट
जाजरकोट । भेरी नगरपालिका जाजरकोटमा एकदिने नगरस्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाको सक्रिय सहभागिता र सशक्त आवाज सुनिश्चित गर्न नगर बाल सञ्जालको आयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको सभा हलमा भेला कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयहरूबाट आएका ७७ जना बालबालिकाहरूले सक्रिय सहभागिता जनाएका थिए। बाल भेला कार्यक्रमले बालबालिकाको अधिकार, सहभागिता, तथा नेतृत्व विकासमा टेवा पुग्ने आयोजकहरूको विश्वास छ।
बालकल्याण शाखा प्रमुख सन्तोष पुन मगरका अनुसार भेलामा बालबालिकाले आफ्ना समस्या, सुझाव र अपेक्षाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा वाल्र्ड भिजनको आर्थिक सहयोग रहेको र समन्वय भेरी नगरपालिकाले गरेको थियो।
भेलाले बालबालिकाबीच एकआपसमा विचार आदानप्रदानको अवसर प्रदान गर्नुका साथै उनीहरूको नेतृत्वदक्षता अभिवृद्धिमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।













